Sun Jun 26 2022
मुख्य खबर

मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेका छन । आज नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएका हुन ।

यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ । कार्यक्रममा नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासका लागि काम गरेको बताउनु भयो ।

उहाँले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउँदै सरकारमा मधेशी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताउनु भयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन्द्र सोनलले नेकपा एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरुको, आदिवासी, दलित, जनजाती, मधेशी, महिला, मुस्लिम, थारुहरुको भनाइ सरकारमा लैजाने बताउनु भयो । उहाँले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने पनि बताउनु भयो ।

नेता सोनलले मधेसका जनताको अधिकारका लागि आफ्नो पार्टी गम्भीर रहेको बताउनु भयो ।