काठमाडौं । कोरोना संक्रमण रोकथाम गर्नका लागि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार आज राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।
सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमयहरु पनि कायमै छन् ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढीलाई प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरिएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
त्यस्तै उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) को स्वीकृति अनिवार्य गरिएको छ ।
धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरिएको उपाध्यायले जानकारी दिए । उनका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी उपस्थित हुनुपर्नेछ ।
यसरी उपस्थित हुनेहरु सबै खोप लगाएका हुनुपर्ने उनको भनाइ छ ।