कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
शंकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए । उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गरे ।
एति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए । उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए ।
उनले सबै बालबालिकाहरुले कोरोनाबिरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन रहेको बताए ।
होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए । उनले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताए ।
उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताए ।