Thu May 26 2022
देश

निगमले आइओसीलाई पठायो १३ अर्ब

काठमाडौं । नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ ।

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसनलाई १३ अर्ब बढी भुक्तानी गरेको हो ।

प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमले मूल्य स्थिरिकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको हो ।

मूल्य स्थिरिकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग रु एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

सञ्चित बचत शून्यमा पुगेसँगै आइओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।

पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ ।

निगमका अधिकारी आइओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् ।

निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो ।

निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरे बापतको रकम भुक्तानी गर्दै आएको छ ।