Tue May 17 2022
मुख्य खबर

भेरी नदीको पुल अलपत्र

बद्री पन्त- पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीमा निर्माण थालिएको पक्की पुल अलपत्र परेको छ । मध्यपहाडी लोकमार्ग आयोजना अन्र्तगत पर्ने पुल दश बर्षदेखि अलपत्र परेको हो ।

पुल निर्माणमा भएको ढिलाईले रुकुम र जाजरकोट दुई जिल्लामा सडक सञ्जाल जोडिन सकेको छैन । पुल निर्माणको जिम्मा लिएको वाईपी कन्ट्रक्सन प्रा.ली. ललितपुरले दुई वटा पिलरको आधा पनि काम गरेको छैन ।

१३ करोड ४७ लाख लागतमा २०६९ सालमा पुल निर्माणको ठेक्का पाएको वाईपीले ३ वर्षमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पिलर ठड्याउने डिजाइन फेल भएको बहाना गर्दै निर्माण कम्पनीले बीचैमा काम अलपत्र छाडेको छ । पुल निर्माण हुन नसकेकै कारण दुइ जिल्लाको विकास निर्माणमा पनि बाधा पुगेको स्थानीयको भनाई छ ।

तर निर्माण थालिएको बर्षौ वितिसक्दा पनि ठेकेदारकै लापरबाहीले निर्माण अलपत्र परेको भेरी नगरपालिका १३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले बताए ।
लामो समयदेखि पुल नबन्दा व्यापार व्यवसायमा समेत ठुलो असर परेको उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारको भनाइ छ ।