Tue May 17 2022
Breaking News

दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशियो, उपभोक्ता रोग र भोकको प्रहार खप्न बाध्य

नरेन्द्र महतारा- देशभर कोरोना संक्रमण तेस्रो लहर बढिरहेको छ । दिनानुदिन संक्रमित थपिदो क्रममा छन् । अहिले कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्नेमा सबैको ध्यान केन्द्रित छ । तर यहि बेला बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ ।

बजारमा सबैखाले दैनिक उपभोग्य वस्तुको मुल्यमा वृद्धि भएको छ । संक्रमणका कारण आर्थिक गतिविधिहरु त्यति चलायमान हुन नसकेका बेला दैनिक उपभोग्य वस्तुको मूल्य भने उकालो लागिरहेको छ ।

अहिले बजारमा खाने तेलदेखि, खाना पकाउने एलपी ग्यास लगायतका दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि हुन थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य सामग्रीहरुमा समेत मूल्य बढाउन थालिएको छ । केही दिनअघि मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पनि मूल्यवृद्धि गरेको थियो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल लगायतका पदार्थमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको थियो । यसरी देशभर महामारी चलिरहेका बेला बजारमा हुने यस्तो महँगीले दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको सर्वसाधारणहरु बताउँछन् ।

यता उपभोक्ता अधिकारकर्मी बजारमा सरकारले नै मूल्यवृद्धि गर्न व्यापारीलाई उक्साइरहेको आरोप लगाउँछन् । मूल्यवृद्धि नियन्त्रणको मुख्य औजार बजार अनुगमन भए पनि सरकारले प्रभावकारी अनुगमन नगरेको उनीहरुको आरोप छ ।

यता बजार अनुगमनको अख्तियारी पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा निर्धारित मूल्यभन्दा बढी मूल्य लिने व्यापारीलाई जरिवाना गरेको दाबी गर्दै औषधि पसलमा समेत अनुगमन गरेको जनाएको छ ।

कोरोना संक्रमणको तेस्रो लहर बढिरहेको बेला महामारीलाई मौका छोपेर बजार महंगिएको छ । महामारी भयावह बनेको बेला भएको मुल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।