Mon May 23 2022
मुख्य खबर

तनहुँमा कोरोना संक्रमण बढ्यो

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि तनहुँका स्वास्थ्य संस्थाहरुले उपचार सेवा प्रवाहका लागि आवश्यक तायरी थालेका छन् । जिल्लामा ९ वटा भेन्टिलेटर सहितका १२ बेडको आईसियु कक्ष तयारी अवस्थामा राखिएको छ । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन सुरु गरेका छन् ।

कोरोना भाइरसको संक्रमण अहिले समुदायस्तरसम्म फैलिएको छ । संक्रमितमा हालसम्म गम्भिर प्रकृतिको स्वास्थ्य समस्या नदेखिए पनि जिल्लाका स्वास्थ्य संस्थाहरुमा आवश्यक तयारी गरिएको छ । कोरोना संक्रमितको उपचारका लागि दमौली अस्पतालमा ४ वटा भेन्टिलेटर सहितको ७ वेडको आइसियु कक्ष र १६ वेडको आइसोलेसन कक्षा तयारी अवस्थामा राखिएको छ । यता तनहुँका १० वटै पालिकाको संयुक्त लगानीमा ३० वेड क्षमताको कोभिड आइसोलेशन भवन निर्माण गरी जिपी कोइरला उपचार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि तनहुँका स्थानीय तह संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि आवश्यक सचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ५१३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु सबै होमआइसोलेसनमा राखिएको छ ।