Mon Jul 4 2022
मुख्य खबर

काठमाडौंमा फोहोर ब्यवस्थापन सधैं चुनौतीपूर्ण

प्रिन्स मिश्र- पहिलो महानगर अनि देशको राजधानी भएर पनि काठमाडौंमा बारम्बार देखिने प्रमुख समस्या हो, फोहोर व्यवस्थापन । महानगरले समयमै फोहोर व्यवस्थापन गर्न नसक्दा बेलाबेलामा काठमाण्डौंका सडक र गल्लिहरुमा फोहोरका डगुंर देखिनु नौलो कुरा होइन । देशकै राजधानी भएर पनि काठमाडौंमा जताततै फोहोरका डगुंरहरु देख्न सकिन्छ ।

भनाईमा व्यवस्थित मानिने महानगरमा फोहोर व्यवस्थापन भने अस्तव्यस्त छ । यो शहरमा फोहोर व्यवस्थापन टाउको दुखाईको विषय बनेको छ । हुनत काठमाडौंको फोहोर व्यवस्थापन गर्न पटक पटक प्रयाश नभएका होइनन् । तर काठमाडौं कहिलै सफा हुन सकेन । यहाँ फोहोर कै कारण हरेक दिन सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् ।

महानगरले लामो समयदेखि काठमाडौंको फोहोर व्यवस्थापन गर्न सकेको छैन । कैयौं चोक तथा गल्लीका फोहोर हप्तौसम्म उठ्दैन । यस्तोमा महानगरले ति फोहार व्यवस्थापनमा समय तालिका मिलाएर काम नगर्ने हो भने अझै २० बर्षसम्म काठमाडौंमा फोहोरको समस्या रहिरहने सर्वसाधारण बताउँछन् ।

काठमाडौंको फोहोका बिषयमा महानगरको वातावरण व्यवस्थापन विभागले वैज्ञानिक ल्याण्डफिल साईटको अभाव र परम्परागत शैलीका कारण फोहोर व्यवस्थापनमा समस्या आएको बताएको छ । विभागले जनमानसमा चेतनाको कमिका कारण पनि फोहोर व्यवस्थापन चुनौतीपुर्ण बनेको दाबी गरेको छ ।

काठमाडौं महानगरपालिकामा बर्षाैदेखि फोहोर व्यवस्थापन चुनौतीपुर्ण रहदै आएको छ । यसका लागि ठुलो रकम बर्षेनी विनियोजन पनि हुन्छ । तथापी काठमाडौं सफा सुग्गर देखिएको छैन । अहिले पनि जताततै फोहोरको डंगुर देखिन्छ ।