Fri May 20 2022
मुख्य खबर

विप्लवका कार्यकर्ताले वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दले

नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बझाङमा एक गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेका छन् । सोमबार बित्थडचीर गाउँपालिका–८ का वडाध्यक्ष राजबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् ।

वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जाँदै गर्दा सोमबार दिउँसो बाटोमै नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।

उनीविरूद्ध खानेपानी योजना निमार्णमा भ्रष्टाचार गरेको, मजदुरलाई ज्याला नदिएको, सडक बिस्तारमा १० कमिसन खाएको, कागजपत्र मिलाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको र प्रतिबन्धको समयमा पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाइएको छ।

यता, बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले वडाध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भइसकेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए ।