Wed May 18 2022
मुख्य खबर

डुम्रे–बेंसीसहर सडक दुई लेन बनाउन सुरु

 

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक दुई लेनको बनाउन थालिएको छ ।

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ जाने सडकलाई विस्तार गर्न लागिएको हो ।

अहिले डुम्रे बजार नजिकबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले बताउनुभयो ।

उनका अनुसार २ लेनको सडक निर्माण कार्य ३० महिनामा सक्ने गरी सम्झौता भएको छ । डुम्रे बजारबाट दुई सय २० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा सडक बनाउन थालिएको योजना प्रमुख पन्तले बताउनुभयो ।

यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे अव ७ मिटरको हुनेछ । दायाँबायाँ १/१ मिटरको सोल्जर हुने उक्त सडकमा आवश्यकता अनुसार १/१ मिटरको नाली निर्माण हुने बताइएको छ ।

पृथ्वी राजमार्गको त्यस सडकको मापदण्ड दायाँबायाँ राइट अफ वे सहित १५–१५ मिटरको हुनेछ । अहिले सडकको नाली बनाउने, चौडाइका लागि कटिङ गर्ने र पर्खाल उठाउने लगायतका निर्माण कार्य भइरहेको छ ।

आठ दशमलव आठ किलोमिटरमा बन्ने सडक हालसम्म १८ प्रतिशत काम सकिएको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो ।