Wed May 18 2022
मुख्य खबर

देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू गरिने

सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ ।

सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै प्रकारका झनझट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको हो ।

भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको बताएका छन ।

उनले ७०औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएका हुन ।

भन्सारमा एकद्वार प्रणाली लागू भएसँगै भन्सारमा व्यवसायीहरुले भोग्दै आएका झनझट मुक्त हुने उनको भनाई छ ।

भन्सार विभागले व्यापारलाई सहजिकरण मात्रै नभएर निर्यातलाई प्रर्वद्धन समेत गर्दै आएको भन्दै महानिर्देशक सापकोटाले नीजि क्षेत्रको माग अनुसार निर्यात प्रर्वद्धन गर्नका लागि नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइनको व्यवस्था आवश्यक रहेको बताउनु भयो ।

उनले व्यवसायीले भने जस्तो भन्सारमा आयात भएका बस्तुको मूल्याङ्कन हचुवाको भरमा नभएको बताए ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताए ।

उनले सरकारले भन्सारमा व्यवसायीहरुले भोग्दै आएको विभिन्न झमेला कम गर्नकै लागि भन्सारमा एकद्वार प्रणाली लागू गरिएको बताए ।

सचिव मरासीनीले अहिले बाहिर मिडियामा आए जस्तो मुलुकको अर्थतन्त्र संकटमा नभएको बताए । उनले राष्ट्र बैंकमार्फत् एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्नु सरकारको रहर नभएर बाध्यता भएको बताए ।

अर्थमन्त्रालय र राष्ट्र बैंक नियमन तथा नियन्त्रण गर्ने निकाय भएको भन्दै उनले अहिले एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्नु नियमन मात्रै भएको बताए ।

यता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारका साथै व्यापार सहजिकरण गर्नु पर्ने बताए ।

उनले भन्सारमा आयातलाई नियन्त्रण नभएर व्यवस्थित गर्नु पर्ने बताए । सरकारले नीजि क्षेत्रको सहकार्यमा अब निर्यातलाई प्रर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर र उद्यमशिल बनाउने गरी काम गर्नु पर्ने उनको भनाई छ ।
त्यस्तै नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनु पर्ने बताए । उनले भन्सार दरबन्दी जबसम्म घट्दैन् तबसम्म शतप्रतिशत भ्याट दिन नसकिने बताए । बैंकहरुले नाफा खाने भन्दा पनि व्यवसायीहरुलाई सहजिकरण गर्नु पर्ने उनको भनाई छ ।

श्रेष्ठले पछिल्लो समय राष्ट्र बैंकको एउटा निर्देशनले व्यापारी र राजश्व उठ्ने लक्ष्यमा पनि निदहराम हुने गरेको बताए । उनले यसरी अर्थमन्त्रालयले राष्ट्र बैंकलाई मनोपोली गर्न दिन नहुने तर्क गरे ।

अध्यक्ष श्रेष्ठले भन्सार कार्यालयमा सरकारले अनलाइन प्रणाली सुरुवात गरे पनि बैंकिङ कारोबार डिजिटल नभएको स्मरण गराए ।