Wed May 18 2022
मुख्य खबर

दशगजामा भारतले नेपाली भूमि मिच्यो, एकतर्फी रुपमा सडक विस्तार

राज चौधरी- पश्चिम नवलपरासीस्थित दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक विस्तार गरेको छ । नेपाली भुमी मिचेर प्रतापपुर, सुस्ता र सरावल गाउँपालिकाको दशगजा क्षेत्रमा चार लेनको सडक निर्माण गर्दा नेपाली भूमी मिचेको हो ।

अन्तराष्ट्रिय सन्धीअनुसार सीमा क्षेत्रको दुई किलोमीटर भित्र कुनै पनि भौतिक पूर्वाधार निर्माण गर्न पाईंदैन, तर भारतीय पक्षले एकलौटी रुपमा नेपाली भूमि मिचेर सडक बनाएको छ ।

नेपाल भारतबीच लामो समयदेखि विवाद हुँदै आएको नेपाली भूमि सुस्ता र सुस्तावासीमाथि भारतीय पक्षबाट हुने गरेको दुब्र्यवहार अझै रोकिएको छैन ।

भारतीय पक्षबाट नेपाली भूमिमा हुने गैह्रकानुनी गतिविधिविरुद्व हरेक समय आवाज उठाउदै आएका पश्चिम नवलपरासीका नागरिक यतिवेला पनि भारतको अर्को मिचाहा कदमले थप सशंकित बनेका छन । भारतले नेपाली भुमी मिचेर एकतर्फी रुपमा सीमा क्षेत्रमा गरेको सडक विस्तारले सीमावासी नागरिक थप त्रसित बनेका छन ।

अन्तराष्ट्रिय सन्धी सम्झौता अनुसार दुई देशबीचको सिमा क्षेत्रको २ किलोमिटर भित्र कुनै पनि भौतिक पूर्वाधारका संरचना निर्माण गर्न पाईंदैन । तर भारतले अन्तराष्ट्रिय सन्धीलाई नै लत्याउदै नदीको प्राकृतिक वहावलाई अवरोध पुग्ने गरि सडक विस्तार गरेको स्थानीयको भनाई छ ।

अन्तराष्ट्रिय कानुन अनुसार अन्य मुलुकलाई असर पर्ने गरि कुनै पनि मुलुकले भौतिक या त्यस्ता कुनै पनि संरचना निर्माण गर्न नपाईने व्यवस्था छ । तर भारतले अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै दशगज्जा क्षेत्रमा २५ मिटर चौडाइ र १० फिटसम्मको उचाइमा सडक निर्माण गर्दा नेपाली भूभाग महिनौसम्म डुवानमा पर्ने गरेको स्थानीयको गुनासो छ ।

भारतीय पक्षबाट भएको यो पछिल्लो क्रियाकलापले नेपालमाथि मिचाहा प्रवृत्ति देखाएको प्रष्ट हुन्छ । तर अन्तराष्ट्रिय कानुन विपरितका संरचना निर्माण भइरहँदा पनि नेपाल सरकार भने मौन बसेको पुर्वसंविधानसभा सदस्य देवकरण कलवार सन्तुले आरोप लगाए ।

नेपाली भूमीको सुरक्षा र सीमाबासीको पिडामा सरकारले कुनै पहल नगरेको सीमावासीको गुनासो छ ।