Tue May 17 2022
Breaking News

सङ्क्रमण भएको कति दिनपछि खोप लगाउन उचित ?

काठमाडौं । सङ्क्रमणको त्रास र त्यसले निम्त्याउने जोखिमबाट जोगिने प्रयासबीच सङ्क्रमण भएको कति दिनपछि बूस्टर मात्रा लगाउनु उपयुक्त हुन्छ भन्ने विषयमा मानिसहरूमा चासो बढेको छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार सङ्क्रमण दर बढेसँगै आममानिसले खोपसम्बन्धी प्रश्न सोध्ने क्रम बढेको छ ।

सामान्य अवस्थामा सङ्क्रमण भएको तीनदेखि छ महिनासम्म कोभिड–१९ विरुद्धको खोप लगाउन नपर्ने विज्ञहरूले बताएका छन् । अर्का सङ्क्रामक रोग विज्ञ डा.अनूप सुवेदी भने दुई महिनापछि खोप लगाउन हुने बताएका छन् ।

अहिले सङ्क्रमित भएका मानिसहरूमा विकास हुने एन्टिबडीका कारण एकदेखि दुई महिनाभित्र फेरि सङ्क्रमण हुने सम्भावना शून्यप्रायः रहेको डा.सुवेदी बताउँछन् ।

अहिले लगाएको खोपले नयाँ सङ्क्रमणविरुद्ध काम गर्छ या गर्दैन यकिन गर्न नसकिने भएकाले पनि सङ्क्रमण भएकाले खोप लगाउन हतार गर्नु नपर्ने उनको तर्क छ ।

रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूले भने सङ्क्रमणमुक्त भएको दुई सातापछि खोप लगाउन मिल्ने विज्ञहरूको सुझाव छ।

किमोथेरापी गराइरहेका क्यान्सरका बिरामी, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा सङ्क्रमणले दिने सुरक्षा कम हुने भएकाले उनीहरूले सङ्क्रमणमुक्त भएको १४ दिनपछि खोप लगाउन हुने डा.सुवेदीको सुझाव छ ।

कसैलाई कोरोनाभाइरस सङ्क्रमणको लक्षणसँग मिल्दो स्वास्थ्य समस्या देखिएको छ। तर सङ्क्रमण पुष्टि भएको छैन भने ती व्यक्तिले पनि खोप लगाउन नहुने डा. सुवेदीले जानकारी सुझाव दिएका छन् ।

सङ्क्रमितको निकट रहेको र लक्षण देखिएको अवस्थामा एन्टिजन र पीसीआर दुवै विधिबाट परीक्षण गर्न विज्ञको सुझाव छ । लक्षण देखिएर पनि सङ्क्रमण पुष्टि नभए इन्फ्लूएन्जा परीक्षण गर्नु उचित हुन्छ ।

अस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र कोभिशील्ड खोपको पहिलो मात्रा लगाउँदा धेरै मानिसमा ज्वरो आउने, ज्यान दुख्ने र जाडो हुनेजस्ता समस्या देखिएको थियो । ती समस्या एकदेखि दुई दिनसम्म रहन्थ्यो ।

दुवै मात्रा खोप लगाएको लामो अन्तरालमा तेस्रो मात्रा लगाउँदा स्वास्थ्यमा त्यस्तै सामान्य लक्षण देखिन सक्ने चेतावनी समेत दिइएको छ । ओमिक्रोन भेरिअन्टले विगतका भेरिअन्टभन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको छ ।

यद्यपि तेज गतिमा फैलिरहेका यस भाइरसले स्वास्थ्य प्रणालीमाथि दबाव कायमै राखेको छ। खोप नलगाएका र उच्च जोखिममा रहेका समूहहरूका लागि यो चिन्ताको विषय रहेको छ।

नाकबाट पानी बग्ने, टाउको दुख्ने, मध्यम वा गम्भीर रूपमा शरीर गल्ने, घाँटीमा असहजता, हाच्छिउँ आउने र खोकी लाग्ने अहिलेको लहरमा देखिएका लक्षणहरू हुन् ।

नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरूले बताएका छन् ।

हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छन् ।