जोडिनुहोस
  • होमपेज
  • सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित

सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा राष्ट्रसङ्घ चिन्तित

न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त संस्थाले सहायताकर्मीमाथि आक्रमण नरोकिएकामा चिन्ता व्यक्त गरेको हो ।

यो वर्ष संसारभर ६२ जना मानवीय सहायताकर्मीले विभिन्न आक्रमणमा परी ज्यान गुमाएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले हरेक वर्ष अगस्ट १९ मा बग्दादमा भएको आत्मघाती बम विष्फोटको सम्झनामा विश्व मानवीय दिवस मनाउँदै आएको छ ।

उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो । आक्रमणमा तत्कालीन मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र इराकका लागि राष्ट्रसङ्घका प्रमुख सर्जियो भिइरा डे मेलोले ज्यान गुमाएका थिए । यस वर्ष विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा ६२ जनाको मृत्यु हुनुका साथै अन्य ८४ सहायताकर्मी घाइते भएका र ३४ जना अपहरणमा परेका छन् ।

केही वर्षयता अफ्रिकी मुलुक दक्षिण सुडान सहायता कार्यकर्ताका लागि विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान बनेको छ । त्यहाँ मानवीय सहायता कर्मचारीहरूमाथि ४० पटक आक्रमण भएको र २२ जनाको ज्यान गएको मानवीय मामिलासम्बन्धी राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ । मध्य अफ्रिकी गणतन्त्र, माली, सोमालिया, युक्रेन र यमनमा पनि मानवीय सहायताकर्मी मारिएका छन् ।

यसरी मारिनेमा ९० प्रतिशतभन्दा बढी स्थानीयवासी हुन् । तत्कालीन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्ने अमेरिकी नेतृत्वको आक्रमणको अराजकताको बीचमा सन् २००३ मा भएको त्यो विस्फोटमा ब्राजिलका भिइरा डे मेलो सहित २२ जनाको ज्यान गएको थियोभने करिब १५० स्थानीय र अन्तरराष्ट्रिय सहायताकर्मी घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका