काठमाडौं । माघ २४ गतेबाट काठमाडौं र ललितपुरका विद्यालय खोल्नुपर्ने भएको छ ।
१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि दोस्रो मात्राको खोप लगाउन दुई जिल्लाका विद्यालय खोल्नु पर्ने भएको हो ।
ललितपुर र काठमाडौंका जिल्ला स्वास्थ्य कार्यालयले माघ २४ देखि दोस्रो मात्राको खोप लगाउने तयारी गरेकाले विद्यालय खोल्न स्थानीय तहलाई पत्र पठाउने तयारी गरेको छ ।
यसअघि नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेकालाई पुनः खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं र ललितपुरमा पहिलो मात्रा खोप लगाउने विद्यार्थीको संख्या न्यून छ ।
भक्तपुरमा भने मोडर्ना खोप अभियान सञ्चालन भइसकेको छ । दोस्रो मात्रा शुरू भएसँगै पहिलो मात्रा खोप छुटेकालाई पनि लगाइदिने अभियान सञ्चालन गर्नुपर्ने अवस्थामा दुई मन्त्रालयबीचको समन्वय अभावको कारण समस्या देखिएको छ ।
काठमाडौंका जिल्ला स्वास्थ्य अधिकृत शम्भु काफ्लेले सम्बन्धित जिल्लाका सरोकारवाला निकायबीच छलफल नगरी निर्णय गर्दा समस्या भएको बताउनु भएको छ ।
काठमाडौंका १२ देखि १७ वर्ष उमेरका अधिकांश विद्यार्थीले भने पहिलो मात्रा खोप लगाइसकेका छन् । तर यस्तो विषम अवस्थामा २० गतेपछि फेरि विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषमा अन्योल देखिएको छ ।