Sat May 21 2022
मुख्य खबर

उद्घाटनको ९ महिना बितिसक्दा पनि धरहरा पुननिर्माणले पूर्णता पाउन सकेन

नरेन्द्र महतारा- उद्घाटन भएको ९ महिना बितिसक्दा पनि ऐतिहासिक धरहरा पुननिर्माणको काम अझै सकिएको छैन । निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका अनुसार धरहरा पुननिर्माणको काम चैत मसान्तसम्मका लागि धकेलिएको छ । अहिलेसम्म धरहराको भौतिक प्रगति जम्मा ६८ प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत मात्र रहेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा नवनिर्मित धरहरा बनेको भन्दै गत बैशाख ११ मा तामझामका साथ धरहराको उद्घाटन गरे । त्यतिबेला सर्वसाधारणलाई लागेको थियो अब धरहरा बनिनै सक्यो । मज्जाले धरहरा चढ्न पाइन्छ । तर उद्घाटन भएको ९ महिना बितिसक्दा पनि धरहरा पुननिर्माणले पूर्णता पाउन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले निर्माण कम्पनी रमन कन्स्ट्रक्सनसँग २०७७ असोज २० गतेभित्रमा सम्पूर्ण निर्माणको काम सक्नेगरी २०७५ सालमा सम्झौता गरेको थियो । तर सम्झौताको ३ वर्ष बितिसक्दा पनि पुननिर्माण सकिएको छैन ।

पुननिर्माणका लागि ३ अरब ४८ करोड बजेट विनियोजन गरिएको थियो । जसमा हालसम्म भ्याटसहित २ अर्ब २० करोडको काम सकिएको छ । पुननिर्माणको जिम्मा पाएको निर्माण कम्पनी रमन कन्स्ट्रक्सनका अनुसार पुननिर्माणको काम चैत मसान्तसम्म सक्नेगरी पछिल्लो सम्झौता भएको छ ।

कोरोना महामारीका कारण राष्ट्रिय पुननिर्माण प्राधिकरणले कन्स्ट्रक्सन कम्पनीलाई ९ महिनाको समयावधि थप गरेको थियो । कन्स्ट्रक्सनका अनुसार अहिलेसम्म धरहराको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत रहेको छ ।

सुरुवाती चरणमा सानो क्षेत्रफलमा धरहरा पुननिर्माणको काम सुरु गरिएको थियो । अहिले ४२ रोपनी क्षेत्रफलमा यसको काम चलिरहेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार धरहरा परिसरमा त्रिपल बेसमेन्ट, म्युजियम लगायतका काम चलिरहेका छन् ।

यता सर्वसाधारणहरु भने सरकारकै कारण धरहरा पुननिर्माणको काम ढिला भएको बताउँछन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण र रमन कन्स्ट्रक्सनबीच पुननिर्माणको सम्झौता भएको ३ वर्ष बितिसकेको छ । कोरोना महामारीका कारण पुननिर्माणमा केही ढिलाइ भएपनि सोचेअनुरुप कामले पूर्णता पाउन सकेको छैन ।