जोडिनुहोस
  • होमपेज
  • बाढीले भवन भत्काएपछि कागबेनीमा पठनपाठन बन्द

बाढीले भवन भत्काएपछि कागबेनीमा पठनपाठन बन्द

म्याग्दी । बाढीले भवन लगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ ।

गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले जनशान्ति मावि, वडा कार्यालय, प्रहरी चौकी, गुम्बा, मन्दिर, सडक तथा पुल बगाएको थियो । कागबेनीमा बाढीले २९ घर पूर्ण तथा १३ घरमा आंशिक क्षति पु¥याएको थियो ।

जनशान्ति माविका शिक्षक मनवीर किसानका अनुसार बाढीले विद्यालयको खेलमैदान, कक्षाकोठा र छात्राबास भवन क्षति गरेपछि गाउँपालिकासँग समन्वय गरी यही भदौ ८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

‘भवन र खेलमैदानमा बालुवा थुप्रिएको छ । बाटो पनि हिलाम्मे छ’, उनले भने, ‘आवासीयरूपमा सञ्चालन भएको विद्यालयमा खानेपानी, विद्युत्, खाद्यान्न र आवासको व्यवस्थापन नभएसम्म पठनपाठन सञ्चालन गर्न सम्भव छैन ।’

बाढीले विद्यालयको साढे दुई रोपनी करेसाबारी र शिक्षकले आवासका रूपमा प्रयोग गरेको दुईकोठे भवन भत्काएको छ । दुई सय जना विद्यार्थी रहेको जनशान्ति माविको छात्राबासमा एक सय ४० जनाले आवासीय सुविधा लिएका छन् ।

कागबेनीमा क्षतिग्रस्त घर, भवन, होटलमा जमेको गेग्य्रान हटाउने, भत्केका होटल तथा घरबाट बहुमूल्य सामग्रीसहित सामान उत्खनन गर्ने र बाढीले पूरै पुरेका घर, संरचनाको पहिचान गर्ने र संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।

‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी र छिमेकी गाउँबाट आएका सर्वसाधारणले बालुवा पन्छाउने काम गरिरहेका छन्’, उनले भने, ‘खानेपानी र विद्युत् आपूर्ति गराउने काम भइरहेको छ ।’

बाढीबाट विस्थापितलाई गाउँपालिकाको प्रशासकीय, सामुदायिक र जोमसोमको सामुदायिक भवनमा राखिएको छ । बाढीले पुल र सडक बगाएपछि अवरुद्ध बनेको जोमसोम–कोरला सडक मर्मत थालिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका