Thu May 19 2022
मुख्य खबर

चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउन सकेन

 मेनुका लम्साल- काठमाडौंको चोभारमा निर्माण भइरहेको सुख्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेको छैन । बाहिरी संरचना निर्माण सम्पन्न भइसकेको बन्दरगाह निर्माणको जिम्मा पाएको समितिले गत साउनमै हस्तान्तरण गरेको थियो । तथापी यो बन्दरगाह लामो समयसम्म सञ्चालनमा आउन सकेको छैन ।

काठमाडौंको चोभारमा साढे ६ महिना अगाडि नै बाहिरी संरचना निर्माण सम्पन्न भइसकेको सुख्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेको छैन । हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा सरकारले १ अर्ब ६० करोड लगानीमा निर्माण थालेको बन्दरगाह बाहिरी निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको हो ।

बन्दरगाहमा अहिले ५ सय कन्टेनर अट्ने क्षमताको पूर्वाधार तयार भएको छ भने सामान जाँच गर्ने ठाउँ, २ वटा ठुला गोदाम, ५ सय ट्रक क्षमताको पार्किङ स्थल र ५ सय वटै कन्टेनर राख्न सक्ने यार्ड समेत निर्माण भइसहेको छ । यस अलावा सवारीसाधन प्रवेशका लागि ठूला ३ गेटका साथै बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको निर्माणको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिले आफ्नो तर्फबाट सबै काम सकिएको भन्दै भन्सार विभागले गर्नुपर्ने काम मात्र बाँकि रहेको जनाएको छ ।

२०७८ साउन १३ मा ठेकेदारले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी इन्टरमोडल यातायात विकास समितिलाई हस्तान्तरण गरेको थियो । विदेशबाट आयात हुने तथा नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिने लक्ष्यका साथ बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।

बन्दरगाह सञ्चालन हुन मन्त्रीपरिषद्बाट ओएनएम स्वीकृत भइसकेको तर कार्यविधि तयारी हुने चरणमा रहेको भन्सार विभागले जनाएको छ । विभागले सामान ढुवानीमा हुने चुहावट, चोरी लगायतका विषयलाई ध्यानमा राखेर पुर्व तयारी गरीरहेको भन्दै स्ट्रान्डर कन्टेनर ट्रक, इलेक्ट्रीक लकिङ सिस्टम लगायतको तयारी भइरहेको जनाएको छ ।

विभागका अनुसार सरकारी प्रक्रिया पुरा गरी कार्य गर्नु पर्दा सञ्चालनमा आउन केही समय ढिलो भएको हो । तथापी विभागले सबै प्रक्रिया पुरा गरी छिटो भन्दा छिटो चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेको छ ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माण भएको छ । समयमै बन्दरगाह सञ्चालनमा आउन सके व्यवसायीसहित सर्वसाधारणले समेत सहज रुपमा सेवा पाउने छन् ।