Sun May 22 2022
खेलकुद

आहा रारा गोल्डकपमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

कास्की । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४÷३ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसअनुसार पेनाल्टी सुटआउटमा मनाङले बाजी मार्यो । पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गरे । तर, विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे ।

दिपक गुरुङको प्रहार पोस्टमा लाग्दै फर्किएको थियो भने युद्ध शाहीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।

पेनाल्टी अघि दुबै टोलीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बनेको थियो ।

अब मनाङले फाइनलमा विभागीय टोली एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३÷१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन ।