Mon May 16 2022
Uncategorized

नेप्लाई कम्पनीसँग साठगाठमा कर छल्दा डिलरलाई तनाव, व्यापार भयो चौपट

पुष्कर खतिवडा, काठमाडौं । नेप्लाई प्लाई उत्पादक भगवती लेमिनेट्सको कर छली प्रकरण राजश्व अनुसन्धान विभागको छानबिन जारी छ ।

डिलरलाई सामान बिक्री गर्दा भुक्तानीमा पक्का बिलमा कम रकम देखाउने र राजश्व छलि गर्न कच्चा बिल बनाएर बढी रकम व्यक्तिको नाममा लिने भगवती लेमिनेट्सका कारण अहिले डिलरहरु तनावमा परेका छन् ।

नेप्लाई प्लाईउड उत्पादक भगवती लेमिनेट्सले गरेको राजश्व ठगीको प्रमाण एकपछि अर्को थपिँदै गएको छ ।

झापा मेचीनगरस्थित केन्द्रिय कार्यालयमा राजश्व अनुसन्धान विभागले छापा मार्दा कम्पनीले डिलरहरुसँग साठगाठमा नक्कली बिल बनाएर राजश्व छली गरेको र डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण भेटीएको छ ।

काठमाडौंको सुकेधारास्थित एभरग्रिन प्लाइ सेन्टरका नाममा भगवती लेमिनेट्सले मंसिर १३ गते भ्याट नम्बर ३१८ उल्लेख गरी ना ०६ ख ५०७५ नं.को ट्रकमा सामान पुर्याएको थियो । सोहि प्लाइ सेन्टरको कच्चा बिलको स्टेटमेन्ट समेत भेटिएको छ ।

भगवती लेमिनेट्सले पक्का बिलको कारोबार झापाबाट गर्छ भने कच्चा बिलको कारोबार धुलाबारीबाट गर्दै आएको खुलासा भएको छ ।

एभरग्रिन प्लाइ सेन्टरले भने यो बिषयमा भगवती लेमिनेट्सका निर्देशकद्वय रजनिश कर्नानी र विष्णु मदगोरियासँग सम्पर्क गर्दा कुराकानी हुन नसकेको गुनासो छ ।

केहि अघि भने एभरग्रिनले राजश्व छलि प्रकरणमा आफूहरुको कुनै संलग्नता नरहेको दाबी गरेको थियो ।

भगवती लेमिनेट्सको बिलमा सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखिएको छ । ‘के’ अर्थात कच्चा बिल, ‘पी’ अर्थात पक्का बिल र ‘जीटी’ अर्थात ग्रान्ड टोटल हो ।

नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण र आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सका कर्मचारीका साथै डिलर र उनका सञ्चालकको ५ वर्षयताको बैंक स्टेटमेन्ट हेरेमा कच्चा बिलबाट कति कर छली भइरहेको छ भन्ने प्रस्ट हुन्छ ।

तर नेप्लाई प्लाई उत्पादक भगवती लेमिनेट्सका सञ्चालकद्धय रजनिश कर्नानी र विष्णु मदगोरिया साथै कन्ट्री म्यानेजर विकास सिंह भने राजश्व छलिको कर्तुत लुकाउन पहुँच प्रयोग गर्दै आएका छन् । यि तिनै जना अहिले सम्पर्कमा छैनन् ।

कम्पनीको केन्द्रिय कार्यालयमा बुझ्न पुग्दा समेत उनिहरु नभएको भनेर सञ्चारकर्मीलाई प्रवेश दिइएको छैन ।

कर छल्न फर्जी बिल बनाउने नेप्लाई प्लाई उत्पादक भगवती लेमिनेट्सका कारण नेप्लाई प्लाईका सबै डिलरहरू तनावमा परेका छन् । तर कम्पनीले अहिले डिलरसंग समेत भेट्न मानेको छैन । नेपालमा नियतवश कर छली गर्नेविरुद्ध कडा कानुनी व्यवस्था छ ।