जोडिनुहोस
  • होमपेज
  • विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागेको छः प्रधानमन्त्री

विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागेको छः प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागिपरेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ,’ उनले भने । प्रचण्डले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’

उनले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको जानकारी दिए । प्रधानमन्त्रीले आफूहरुको जोड बढीभन्दा बढी स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे । उनले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए । विगतको भन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलियतपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । सात अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका