हर्क चन्द- डडेल्धुराको परशुराम नगरपालिका ५ परिगाउँमा रहेको भुवनेश्वरी नमूना माध्यमिक विद्यालय परिसर भित्रका विभिन्न जातका रूखहरु डिभिजन वन कार्यालय डडेल्धुरा संगको साठगाँठमा कटान गरि लुकाइएको छ । विद्यालय भवन र खेलमैदान बनाउने बहानामा सब डिभिजन कार्यालय जोगबुडाका प्रमुखकै साँठगाँठमा सिसम, हल्दु, साल र खयरका दर्जनौ रुख कटान गरी लुकाइएको हो ।
माघ ३ गते परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वर नमूना मावि परिसर भित्र रहेका रूख डिभिजन वन कार्यालयको अनुमति बिना धमाधम कटान गरिएको हो । विद्यालय परिसरमा रूख कटान गरेका ठूटा मात्रै छन्, काठ भने तस्करीमा संलग्नहरुले अन्तै लुकाएका छन् । विद्यालय व्यस्थापन समितीमा समेत कुनै निर्णय नै नगरि रूख कटान गरि विभिन्न स्थानमा लुकाइएको छ ।
अवैध रुख कटान गरि बिक्रि समेत गरिएको स्थानीयको भनाइ छ । आश्चार्य जनक के छ भने रूख कटानमा संलग्न रहेका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई नै अनुसन्धान अधिकृत तोकी अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा आठ वटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको उल्लेख छ । कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८.८० क्युफिट रहेको भट्टले बताएका थिए । अहिले विद्यालय हाता भित्र वरामद गरिएको भनिएको काठ पनि छैन । अनुसन्धान पछि रातभरी डोजर प्रयोग गरी काठ लुकाइएको स्थानीयको आरोप छ ।
विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको अनुसन्धानको रिपोर्टमा उल्लेख समेत गरिएको छैन। सयौ सालका रुख र खयरका रूख काटिएका ठूटा विद्यालय परिसरमा देखिन्छन् । यता, जिल्लामा हालसम्म नै सिसम कटानको आदेश नभएपनि वडा अध्यक्ष मिनबहादुर चन्दको अध्यक्षतामा बैठक बसी रूख कटान गर्ने र कटान गरेका रूख व्यवस्थापन गर्ने जिम्मा पनि उनलाई नै दिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक डम्बर थ्वाल, विद्यालय व्यवस्थापन समिती अध्यक्ष खडक बोहरालाई गत मंगलबार यस विषयमा थप अनुसन्धान गर्नका लागि वन कार्यालयले नियन्त्रणमा लिएको थियो । अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेश गरेको भएपनि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भन्द दुबै जनालाई चार जनाको जिम्मा जमानीमा छोडिएको छ ।
विद्यालय हाता भित्र यसअघि पनि खयरका रूख कटान गरी बिक्रि गरिएको थियो । यसअघि सधै डिभिजन वन कार्यालयसँग साँठगाठ गरि प्रध्यानाध्यापक थ्वालले एकलौटी रुपमा बिक्रि गर्ने गरेको स्थानीयको आरोप छ । त्यसो त, काठकटानीको नाममा बदनाम बनेको डडेल्धुरामा यस्ता किसिमका घटना भने नौलो होइन तर जथाभावी काठ कटानी रोक्नका लागि खडा हुनुपर्ने डिभिजन वनकार्यालय नै नियन्त्रणको गर्नुको साटो तस्करहरु संग मिलेमतो गरेर रुख कटानी गर्नमा तल्लीन रहँदा जिल्लामा जथाभावी रुख कटानका घटनाले थप प्रसय पाइरहेका छन् ।