काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा ७४ जना पक्राउ परेका छन् ।
काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिएका छन् ।
दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएपछि सोही सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।
मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् ।