Wed May 18 2022
अन्तर्राष्ट्रिय

खोप कार्ड अनिवार्य गराएको भन्दै क्यानडामा विरोध, असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले घर छाडे

एजेन्सी । ट्रक चालकहरुलाई पनि कोरोना खोप अनिवार्य गरिएपछि क्यानडामा विरोध प्रदर्शन जारी छ ।

प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्रीले जस्टिन टुडोले परिवारका सदस्यसहित राजधानी ओटावास्थित आफ्नो घर छाडेर अन्यत्र अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरुलाई पनि कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ ।

त्यसको विरोधमा ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेस्र्याएर यातायात सेवा अवरुद्ध पारेका छन् ।

ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं नागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी ओटावा ठप्प भएको छ ।

यो विरोध प्रदर्शनलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ । कतिपय प्रदर्शनकारी ओटावाका स्मारकहरुको अपमान गर्ने ढंगले प्रस्तुत भएका छन् ।

क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका–क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेश जारी गरेको थियो । यही आदेशको विरोधमा प्रदर्शन सुरु भएको थियो ।