Mon May 23 2022
देश

निर्मल लामा प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड हस्तान्तरण

काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।

आज निर्मल लामा स्मृति प्रतिष्ठानका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा प्रतिष्ठानका तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताए ।

उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए ।

नेता पोख्रेलले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिए ।

डा. बस्नेतले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको पनि जानकारी दिए ।