Mon May 16 2022
आर्थिक

नेप्से परिसूचक १३.४८ अंकले गिरावट

काठमाडौं । साताको कारोबार भएको दोस्रो दिन शेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको छ ।

आईतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक आज भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आईतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ ।

अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ ।

बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । आज नेप्से परिसूचकमा ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।