जोडिनुहोस
  • होमपेज
  • रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन ।

वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।

युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो । यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो ।

आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वागनर समूह पछि हटेको थियो । रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए ।

त्यतिबेला वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका