Wed Nov 30 2022
मुख्य खबर

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने

काठमाडौँ । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो ।

रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए । “रेल्वे लिक बनेको धेरै समय भइसक्यो, रेल आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बसिरहेका छौँ”, उनले भने, “तर केही दिनअघि नेपाल रेल्वे कम्पनीले रेलको परीक्षण गरेको देखेपछि रेल चल्ने आशा जागेको छ ।” सुरुमा त रेल चल्छ भन्ने विश्वासै लागेको थिएन, तर लिकमा रेल गुडेको देखेपछि आशा पलाएको उनको भनाइ छ ।

रेल चल्ने भएपछि रेल्वे लिक बनाउन आफ्नो बहुमूल्य जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताए । “रेल्वे लिक बनेपछि रेल चल्छ र त्यो रेलमा चढ्न पाइन्छ भनेर आफ्नो बहुमूल्य जग्गा दिइयो”, मण्डलले भने, “धेरै समयसम्म रेल नचलेपछि निरास थिएँ, तर पछिल्लो समय रेल चल्ने खबर आएपछि खुशी लागेको छ ।”

विसं २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याइएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।