Wed Nov 30 2022
मुख्य खबर

हिटर ताप्दा सावधान ! जान सक्छ ज्यान

मेनुका लम्साल- पछिल्लो समय आगो वा हिटरबाट हुने दुर्घटना दैनिकजसो सुन्ने गरिन्छ । चिसोबाट जोगिन आगो, कोइला, ग्याँस गिजर वा हिटर बालेर सुत्ने क्रममा कतिपयको ज्यान जाने गरेको छ । जाडोको समयमा प्रयोग गरिने यस्ता विभिन्न विद्युतीय सामाग्रीको प्रयोगमा ध्यान नपुग्दा अकालमै नागरिकको ज्यान जाने गरेको छ ।

हिउँदको समयमा चिसोदेखि जोगिन आगो, कोइला, ग्याँस गिजर वा हिटर बालेर सुत्ने गरेको पाइन्छ । तर कतिपय अवस्थामा त्यही हिटर वा ग्याँसबाट निस्किएको तातोमा निसास्सिएर नागरिकको ज्यान जाने गरेको छ ।

जाडो मौसम सुरु भएसँगै हिटर बालेर सुत्दा निस्सासिएर मृत्यु भएका घटनाहरु थुपै्र बाहिर आइएका छन् । चिसो याम सुरु भएसँगै यस्ता विद्य्तीय प्रविधि प्रयोगमा धेरै मानिसले सचेतता अपनाउन नसक्दा दुर्घटना हुने गरेको छ ।

जाडो छल्ने नाममा यस्ता विधि अपनाउदा बर्षेनी थुपै्र नागरिकको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर टेकुले दिएको जानकारी अनुसार गत साउन १ गते यता विद्युतिय घटनाहरुबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

जाडो छल्ने नाममा झ्यालढोका बन्द गरी कोइला वा हिटर बालेर सुत्दा धेरै मानिसले ज्यान गुमाउन पुगेका छन् । हिटरबाट निस्कने कार्बन मोनोअक्साइड स्वास्थ्यका लागि घातक हुने गर्दछ । झ्याल–ढोका बन्द गरेर हिटर बाल्दा हावामा कार्बन मोनोअक्साइडको मात्रा बढी हुन्छ र शरीरमा अक्सिजनको कमी भएपछि मानिसको मृत्यु हुने गरेको वीर अस्पतालका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठले बताए ।

लामो समयसम्म हिटर ताप्दा त्यसबाट निस्कने कार्बन मोनोअक्साइडले मानवीय स्वास्थ्यलाई असर गर्ने चिकित्सकहरुले बताएका छन ।

हिटरबाट निस्कने कार्बन मोनोअक्साइडले शरीरलाई गर्मी बनाउनुका साथै छाला सुक्खा बनाउने र आँखाको ज्योति कमजोर बनाउने चिकित्सकको भनाइ छ । यस्तै चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्याँस गिजर वा हिटर बालेर नसुत्न र राम्रोसँग हावा खेल्ने ठाउँमा प्रयोग गर्न पनि उपनिर्देशक श्रेष्ठले आग्रह गरे ।

रातको समयमा हिटर ताप्दा, आगो बाल्दा कोठा खुल्ला राख्ने र कोठा न्यानो भएपछि आगो वा हिटर निभाएर मात्र सुत्ने गर्नु पर्दछ । अझ राम्रो उपाय त यस्ता उपकरणको प्रयोग गर्नुको सट्टा न्यानो कपडाको प्रयोग गरे सुरक्षित हुनेछ ।