Sat Dec 10 2022
मुख्य खबर

कर्णालीको टिमुर यूरोपका बजारमा

कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने टिमुरको माग विदेशमा बर्सेनी बढ्दै गएको छ ।

कृषिसँग सम्बन्धित विभिन्न संघ संस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि प्रदेशको गुणस्तरीय टिमुरले अन्तर्राष्ट्रिय बजार पाएको हो । अहिले प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका कृषकले उत्पादन गरेको टिमुरको माग भारतलगायत युरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकामा समेत बढेको छ ।

ती देशका विशेषगरी नेपाली रेस्टुराँ र डिपार्टमेन्ट स्टोरबाट टिमुरको माग बढी आउने गरेको जुडिबुटी व्यवसायी बताउँछन् । माग बढ्दै गएपछि हाल ती देशहरुमा टिमुरको निर्यात पनि बढ्दै गएको व्यवसायीको भनाइ छ ।

विदेशमा माग बढेपछि टिमुर खेतीमा लागेका किसान र निकासीकर्ता दुबै उत्साहित भएका हुन् । कर्णालीबाट मात्रै बर्सेनि करिब १५ करोडको टिमुर भारतलगायत विभिन्न तेश्रो मुलुकमा निर्यात हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले बताउनु भयो ।

उहाँका अनुसार जर्मनी निर्यात गरिएको टिमुर मसला बनाएर थप ७५ राष्ट्रमा पुग्ने गरेको छ । अहिले सुर्खेतमा टिमुरको उत्पादकत्व बढाउन र बजार विस्तार गर्न डिभिजन वन कार्यालय, कृषि उद्यम विकास कार्यक्रम, डावर नेपाल, सुर्खेत उद्योग वाणिज्य संघलगायतले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।