Thu Dec 1 2022
मुख्य खबर

भारतीय गायिका लता मंगेशकरको निधन

मुम्बई । बलिउड गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज मुम्बईस्थित अस्पतालमा निधन भएको छ । गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो ।

शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आएपनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो ।

लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ जातिय भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा शोक व्यक्त गर्दै लेखेका छन् आउँदो पुस्ताले उनलाई भारतीय संस्कृतिको एक दिग्गजको रूपमा सम्झनेछन्, जसको मधुर आवाजले मानिसहरूलाई मंत्रमुग्ध गर्ने अतुलनीय क्षमता थियो।’ मोदीले गायिका मंगेशकरको निधनले मर्माहत भएको उल्लेख गरेका छन् । मंगेशकरको निधनमा विश्वभरबाट सामाजिक संजालमार्फत शोक व्यक्त भैरहेका छन् ।