Wed Nov 30 2022
मुख्य खबर

किन झ्याप्प झ्याप्प जान्छ बिजुली ?

नरेन्द्र महतारा-  पछिल्लो समय देशभर बिजुलीको क्षमतामा समस्या देखिएको छ । जाडोयाममा विद्युतको माग धेरै हुने भएपनि अहिले बत्ती आउनेजाने समस्या छ । जसका कारण उपभोक्ताहरु मारमा पर्ने गरेका छन् ।

बत्तीमा देखिएको पछिल्लो समस्याले नेपालमा फेरि लोड्सेडिङ हुन थालेको त होइन भन्ने उपभोक्तालाई त्रास बढेको छ । तर नेपाल विद्युत प्राधिकरणले भने अहिले वर्षा भइरहेकाले विद्युतमा समस्या आउने गरेको जनाएको छ ।

नेपालमा जतिबेला विद्युतको माग कम हुन्छ त्यतिबेला विद्युत आपूर्तिमा कुनै समस्या आउँदैन । तर जतिबेला विद्युतको माग बढ्छ त्यतिबेला भने विद्युत आपूर्तिमा समस्या हुने गरेको छ । जाडोयाममा विभिन्न घरायसी सामग्रीको प्रयोगका लागि बिजुलीको माग बढ्ने गर्छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार देशैभरको विद्युत क्षमता २ हजार २५ मेगावाट छ । यसवर्षको जाडोयाममा देशभरको बिजुली माग क्षमता २५० मेगावाटले बढेको छ । यस्तै गतवर्षको जाडोयाममा पिक डिमाण्ड १ हजार ४ सय पचास मेगावाट आसपास थियो भने यो वर्ष पिक डिमाण्ड १ हजार ७ सय १० मेगावाटसम्म पुगेको छ । तर मागअनुसार विद्युत आपूर्ति हुन नसक्दा उपभोक्ता मारमा पर्ने गरेका छन् ।

शुक्रबार र शनिबार देशभर भएको वर्षाका कारण देशभरका उपभोक्ताले विजुली आउने जाने समस्या भोगेका छन् । नेपाल विद्युत प्राधिकरणको आइतबारको तथ्यांक अनुसार देशभर सिस्टम डिमाण्ड २७ हजार २ सय ८७ मेगावाट रहेको छ । त्यस्तै ६ हजार ९ सय ७७ मेगावाट बिजुली आयात भएको छ । जसअनुसार आइतबारको पिक डिमाण्ड १ हजार ५ सय ९८ मेगावाट रहेको छ ।

विद्युत प्राधिकरणका अनुसार जाडोयाममा पिद्युतमा हुने दुई वटा समस्या छन् । पहिलो देशभर भएको वर्षासँगै हावाहुरीका कारण र विभिन्न इन्टरनेटका तारहरुका कारण वितरण केन्द्रहरुका फिडरहरुमा समस्या आउने गर्दछ । यस्तै जाडो बढेसँगै सिस्टममा लोड पनि बढ्ने गर्दछ । लोड बढेका कारण कुनैकुनै ट्रान्सफर्मरहरुको फ्युज जाने गर्छ । त्यसकारण पनि बत्ती आउनेजाने भइरहन्छ । तर अहिले यो समस्या समाधान भइसकेको प्राधिकरणले बताएको छ ।

नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको भएपनि अझैसम्म विद्युतमा समस्या हुनु दुखद पक्ष हो । सरकारले विजुलीको उत्पादन क्षमता बढाएर उपभोक्ताको मागलाई सम्बोधन गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।