Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

रुसले युक्रेनमा आक्रमण गरे रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन बन्द गर्ने अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग वाशिङटनमा छलफल गरेपछि यस्तो चेतावनी दिएको हो ।

भेटपछी पत्रकार सम्मेलन गरी राष्ट्रपति बाइडेनले युक्रेन मामिलामा जर्मनी र अमेरिका एकजुट भएको प्रतिक्रिया दिंदै त्यसबारे बिचार बिमर्स गर्न रुसलाई सचेत तुल्याएको छ ।

यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भएको भेटवार्ताका क्रममा युक्रेनमाथि आक्रमण नगर्न आग्रह गरेका थिए ।
रुसले युक्रेनमाथि आक्रमण गर्ने आशंकामा पश्चिमा राष्ट्रहरु चिन्तित बनेका छन् । यद्दपी रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफुहरुको योजना नरहेको बताउँदै आएको छ ।

तर युक्रेनको सीमानामा रुसले १ लाख भन्दा बढी सेना तैनाथी अवस्थामा राखिसकेको छ ।

एटलान्टिक सैन्य संगठन नेटोमा युक्रेनलाई आवद्ध हुन नदिन रुसले आवाज उठाउँदै आउनुका साथै पुर्वी युरोपमा नेटोको संख्या कटौती गर्न गरिएको माग नेटोले अस्वीकार गरेपछि रुस क्रुद बनेको हो ।