Fri Dec 9 2022
देश

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । कोरोना सङ्क्रमणका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रूपमा नै बस्न लागेको हो ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानीय तहको चुनाव घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गएको पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी कमिटीको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ ।