Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

भारत निर्वाचनः सवा दुई करोड मतदाता सहभागी हुँदै

एजेन्सी । भारतका २८ वटा राज्य मध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको निर्वाचन सुरु भएको छ ।

सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सिटका लागि मतदान सुरु भएको हो ।

११ जिल्लाका निर्वाचन क्षेत्रमा भएको मतदानमा सवा दुई करोड भन्दा बढी मतदाता सहभागी हुँदैछन् । मतदानका लागि करीब २६ हजार मतदान बुथ तोकिएका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मार्च ७ तारिखमा सम्पन्न हुने उत्तर प्रदेश विधान सभा निर्वाचनको परिणाम मार्च १० तारिखमा सार्वजनिक हुने बताइएको छ । यस पटक पनि भारतीय जनता पार्टीले नै बहुमत ल्याउने मत सर्वेक्षणहरुले देखाएका छन् ।

यद्यपी अखिलेश यादवको समाजवादी पार्टीले पहिले भन्दा सिट संख्या बढाउने पनि सर्वेक्षणहरुको प्रक्षेपण छ । भाजपाले बर्तमान मूख्यमन्त्री योगी आदित्यनाथलाई नै मूख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

सबैभन्दा ठूलो जनसंख्या र मुस्लिम मतदाताको पनि उल्लेख्य प्रभाव हुने भएकाले भारतीय राजनीतिमा उत्तर प्रदेशको निर्वाचनले ठूलो महत्व राख्ने गर्दछ ।