Mon Nov 28 2022
समाचार

रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन

काठमाडौं । हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनःसञ्चालन भएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मङ्गलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो । चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्ल्लिएसँगै बुधबार नौ वटा टेलरमार्फत सामान आयात भएको हो ।

हिमपातका कारण चिनियाँ सवारी साधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौ वटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारी साधनमा पल्टिभई परीक्षणका लागि भन्सार हातामा पठाई सकिएको छ ।

आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन् । बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन् ।