Mon Nov 28 2022
खेलकुद

सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट

सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल शुक्रबारबाट सुरु हुँदैछन् । भोलिबाट सुरु हुने लिगमा रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोली भोलि आमने समाने हुँदै दुबै टोली रेलिगेशन क्षेत्र भन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौँ चरणका खेल शुक्रवारबाट आरम्भ हुँदैछ । त्यसअन्तर्गत पहिलो दिनको खेलमा लिगको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ ।

दुबै टोली मैदान उत्रिँदा दुबैलाई रेलिगेशनबाट बच्नका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ । बिहीवार खेल अघिको पत्रकार सम्मेलनमा दुबै टोलीले जितका लागि खेल्ने बताएका छन् । तालिकाको पुछारमा रहेको टोली फ्रेन्ड्सका प्रशिक्षक म्रिगिन्द्र मिश्रले कोरोनालाई भ्याक्सिन आवश्यक भए जस्तै आफ्नो टोली रेलिगेशनबाट बच्न तीन अंक आवश्यक भएको बताए ।

यस्तै रेलिगेशन क्षेत्रको दोस्रो स्थानमा रहेको ब्रिगेड ब्वाईज पनि फ्रेन्ड्सविरुद्ध मैदान उत्रिँदा तीन अंकका लागि नै प्रतिस्पर्धा गर्नेछ । ब्रिगेडलाई पनि रेलिगेशन क्षेत्र टार्न निकै संघर्ष गर्नु परेको छ । सोही कारण ब्रिगेड ब्वाइजका प्रशिक्षक समिर विष्टले फ्रेन्ड्सविरुद्ध गर या मरको खेल भएकाले जित बाहेकको विकल्प नभएको बताए ।

दशौँ चरण अन्तर्गतको खेलमा थ्री स्टारले बलियो मनाङ मस्र्याङ्दीविरुद्ध खेल्दैछ । अघिल्ला खेलमा अनपेक्षित नतिजा निकालेको थ्री स्टार पुरानो शाख जोगाउने लक्ष्यका साथ मैदान उत्रिँदैछ । चिर परिचित प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिन थ्री स्टार तयार भएको प्रशिक्षक उर्जन श्रेष्ठले बताए ।

दशौँ चरणको लिग अन्तर्गत शीर्ष स्थानको मच्छिन्द्रले पनि च्यासल युथ क्लबसँग खेल्दैछ । मच्छिन्द्रका प्रशिक्षकले च्यासलसँगको खेलमा जित निकाले दोस्रो स्थानका टोलीसँग तीन अंक भन्दा बढी अग्रता लिदा उपाधि होडलाई सहज हुने भन्दै तीन अंकका लागि खेल्ने बताए ।

लिगमा नवौँ चरणको खेल सकिँदासम्म मच्छिन्द्र २३ अंकका साथ तालिकाको पहिलो स्थानमा रहँदा १९ अंक जोडेर मनाङ दोस्रो स्थानमा छ । मनाङ भन्दा दुई अंकले पछि रहेको त्रिभुवन आर्मी फुटबल क्लब पनि शीर्ष तीन भित्र अटाउने रणनीतिका साथ आएको छ ।