Fri Dec 9 2022
मुख्य खबर

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न १५ जना पक्राउ

प्रिन्स मिश्र- नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानुनी रुपमा लिइएको छ । क्रिप्टोकरेन्सी कारोबारमा नेपाली लगानीकर्ताहरुको संलग्नता बढेसँगै पूँजी पलायन बढेको नेपाल राष्ट्र बैंकको ठहर छ ।

यस्ता कारोबारले अर्थतन्त्रमा गिरावट आएको भन्दै पछिल्ला दिनहरुमा क्रिप्टो कारोबार विरुद्धको कारबाहीमा कडाई गरिएको छ । क्रिप्टोकरेन्सी किनबेचमा संलग्न हालसम्म १५ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेला बेलामा नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको भन्दै सचेतनामुलक सूचना प्रकाशन गर्दै आएको छ । क्रिप्टो कारोबारले नेपालको अर्थतन्त्रमा गिरावट आएको बैंकको ठहर छ ।

यस्ता कारोबारलाई नियन्त्रणमा लिन पछिल्ला दिनहरुमा विभिन्न संयन्त्र अपनाउँदै कारवाहीलाई कडाई गरिएको छ । हालसम्म क्रिप्टोकरेन्सी किनबेचमा संलग्न १५ जना कानुनी कारवाहीमा परिसकेका छन् । जस्मध्ये नेपाल प्रहरीले दुई घटनामा ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बैंक तथा बितीय संस्थासँग सम्बन्धित ऐन २०७३ को आधारमा ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले ‘प्याक्स फुल’ नामको मोबाइल एप्प प्रयोग गरेर कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । त्यस्तै बिनेन्स आइडी मार्पmत जापानबाट क्रिप्टोकरेन्सी खरिद गरेर नेपालमा बिक्री गर्ने गरेको कसुरमा एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गैरकानुनी क्रिप्टो कारोबारलाई नियन्त्रणमा लिन केन्द्रीय अनुसन्धान ब्यूरो सी.आई.बीले पनि विभिन्न अनुसन्धान गर्दै आएको छ । क्रिप्टोकरेन्सी विरुद्ध अनुसन्धानमा सी.आई.बीले हालसम्म ४ वटा अलग अलग घटनामा ११ जनालाई पक्राउ गरेको छ ।

२०७४ सालमा पहिलो र दोस्रो घटनामा गरी ९ जना, २०७५ मा १ जना र २०७७ सालमा १ जना पक्राउ परेका छन । क्रिप्टो कारोबारविरुद्ध थप अनुसन्धान भइरहेको पनि सी.आई.बीले जनाएको छ ।

क्रिप्टोकरेन्सी किनबेचले अवैध सट्टेबाजी, हुन्डी कारोबार तथा ठगी दलाली बढाएको र नेपाली मुद्रामा चुहावट ल्याएको भन्दै नेपाल राष्ट्र बैंकले यसको कारोबारलाई गैरकानुनी कार्य बताउँदै आएको छ । यस्ता गैरकानुनी कार्यमा लगाएको लगानी स्वतः नष्ट भएर जाने नेपाल प्रहरीले बताएको छ ।

विकेन्द्रित क्रिप्टोकरेन्सीलाई करेन्सी पनि मान्न नसकिने राष्ट्र बैंकको तर्क छ । क्रिप्टो कारोबारविरुद्ध आफुहरु एक्शनमा रहेकाले त्यस्ता कारोबारसँग सम्बन्धित जो कोही पनि कारवाहीमा पर्नसक्ने सरकारी अधिकारीहरुको भनाइ छ ।