Sat Dec 10 2022
मुख्य खबर

मेलम्चीको पानी चैतमा काठमाडौं आउने सरकारको दाबी

मेनुका लम्साल- करीब ३ दशकदेखि उपत्यकावासीले प्रतिक्षा गरेको मेलम्चीको पानी चैत भित्र काठमाडौं भित्र्याउने तयारी भएको छ । बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी चैत भित्र पुन निर्माण सकेर उपत्यका भित्र्याउने दाबी गरीएको छ । तर पटक पटक समस्या देखिएको खानेपानी यस पटक पनि भित्रनेमा सर्वसाधरणले भने शंका गरेका छन् ।

लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतिक्षा गरेको मेलम्चीको खानेपानी चैत भित्रै ल्याउने तयारी भएको छ । गत असार १ गतेको बाढीपहिरोले क्षति पु-याएको मेलम्ची खानेपानी आयोजना चैत भित्रमा पुननिर्माण सकेर उपत्यका भित्राइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनाले मुहान क्षेत्रमा मर्मत सम्भारको काम सकेर चैत भित्रै खानेपानी उपत्यका भित्र्याउने दाबी गरेको छ ।
करीब ३ दशकको पर्खाइपछि मेलम्चीको पानी गत बर्षको फागुनमा काठमाडौं आएको थियो । तर ४ महिना नबित्दै असारमा आयोजनाको हेडवक्र्स क्षेत्र डुवाएपछि ७ महिनादेखि काठमाडौंवासीले पानी पाएका छैनन् ।

यस्तोमा चैतमा ल्याउने भनिएको पानी पनि चुनावी फण्डा मात्र भएको कतिपय सर्वसाधरणको विष्लेषण छ ।

यता मेलम्ची खानेपानी आयोजनाले भने मुहानस्थल अम्बाथानको मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको भन्दै चैतमा नै पानी काठमाडौं भित्रने दाबी गरेको छ । यसकालागि केवल केहि काम बाँकि रहेको आयोजनाले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौं भित्र्याउन अम्बाथान हेडवक्र्समाथिका भागमा जोखिम कायमै रहेको, मनसुनमा आउने परिवर्तन प्रतिकूल भइरहेकाले अहिले नै स्थायी संरचना बनाउन नसकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार स्थायी बाँधबाट पानी ल्याउन समय लाग्ने भएकाले तत्कालका लागि अस्थायी बाँधमार्फत काठमाडौंमा खानेपानी ल्याइने छ । तथापी लामो समयदेखि प्रतिक्षारत मेलम्चीको पानी चुनावी मिति नजिक पारेर ल्याइन्छ भन्दा यसलाई उपत्यकावासीले चुनाव फण्डा मात्र हुनेमा शंका गरेका छन् ।