Wed Nov 30 2022
खेलकुद

उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भोलि हुने

काठमाडौं । उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता हुन लागेको हो ।

७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् ।

छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट १ सय, ललितपुरबाट ७५ र भक्तपुरबाट ५० गरी जम्मा २ सय २५ प्रतिस्पर्धी सहभागी हुने शर्माले जानकारी गराए ।

दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।

छात्र–छात्रा दुवैमा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार पाउने छन् । छात्र–छात्रामा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार, तेश्रोले ५ हजार, चौथोले ४ हजार र पाँचौंले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।