Wed Nov 30 2022
देश

संघ सरकारविरुद्ध मधेस प्रदेश सरकार सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीका विभिन्न तहमा भर्नाका लागि प्रकाशित विज्ञापन रद्द गर्न माग गर्दैै मधेस प्रदेश सरकारले मुद्दा दायर गरेको हो ।

शुक्रबार मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संघीय सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाउन आनाकानी गरिरहेको आरोप लगाए ।

प्रहरी भर्नाका सम्बन्धमा संघबाट भइरहेको प्रक्रिया रोक्न माग गर्दै मधेस प्रदेश सरकारले मुद्दा दायर गरेको उनको भनाइ छ ।

उनले संविधानमा उल्लेखित एकल अधिकारको सूचीमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको जिम्मामा रहेको र सोही अनुरुप प्रदेश प्रहरी गठन तथा प्रहरी समायोजन भई निश्चित तहसम्म प्रहरी भर्ना गर्ने अधिकार प्रदेश सरकारको रहने भन्दै मन्त्री साहले सोही अधिकार कार्यान्वयनको मागसहित अदालतमा मुद्दा दायर गरिएको बताए ।

सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भन्दै प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको मन्त्री साहले जानकारी दिए ।

फागुन १ गते नै यस सम्बन्धी मुद्दा दायर गरिएको छ । संघ सरकार अन्तर्गत गृह मन्त्रालयले मंसिर १० मा प्रहरीका विभिन्न पदमा विज्ञापन खुला गरेको बताए ।

उनले भने, ‘विज्ञापनले प्रदेश प्रहरीको समायोजन प्रकृया तथा प्रदेश प्रहरीमा आवश्यक हुने थप प्रहरी कर्मचारी भर्ना गर्ने विषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले उक्त विषयमा प्रदेश सरकारको तर्फबाट मेरो प्रत्यक्ष हकदैया भएको हुनाले संवैधानिक तथा न्यायिक निरुपणको लागि नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम निवेदन गरेको छु ।’