Thu Dec 1 2022
मुख्य खबर

म्याग्दीमा तीन बर्ष अघिदेखिको बिद्युतीकरण योजना अलपत्र

सजिना खड्का- म्याग्दीको मालिका गाउँपालिकामा तीन बर्ष अघिनै बत्ति बलिसक्नुपर्ने बिद्युतीकरण योजना अझै पुरा भएको छैन् । बिजुलीका पोल झाडीले पुरिएका छन् । बिजुली बाल्ने गाउँलेको सपना पोल नगाडिएपछि अधुरै रहेको छ ।

पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीन वटा वडामा बिद्युतीकरण गर्न नेपाल बिद्युत प्राधिकरणले सन २०१६ मा शुरु गरेकोे आयोजना अलपत्र परेको छ ।

मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाासबोट, छिस, भट्टखोला, घोर्सीका तीन सय घरधुरीमा बिद्युतीकरण गर्न तीन बर्षअघि लगिएका पोल अझै गाडिएका छैनन् ।

पाँच सय घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भएपनि केन्द्रिय लाइन बिस्तार भएको छैन् । डेढ सय घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन बर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालिएको छ ।

तीन वटै बस्तीका बासिन्दाहरु लघुजलबिद्युत परियोजना नियमित सञ्चालन नहुने र केन्द्रिय लाइन बिस्तारमा ढिलाई हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर छन् । बिद्यालयहरुमा कम्प्युटर बिषयको पठनपाठन सञ्चालन गर्न देखि घरायसी काम प्रभाबित भएको छ ।

नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इञ्जिनियरिङले करिब आठ करोड रुपैयाँमा सन २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलनचोक देखि २२ किलोमिटर प्रशारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा बिद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । नेपाल बिद्युत प्राधिकरण अन्तरगतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण ब्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रशारण लाइन र तीन वटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको हो ।

२० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड भएपनि मिलनचोक सब स्टेशनदेखि तीन वटा फिडरबाट ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको छ । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकामा बिद्युत आपुर्ति सहज बनाउन रातोढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउन र अधुरो बिद्युतीकरण योजनालाई पुर्णता दिन सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ ।