जोडिनुहोस
  • होमपेज
  • ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक ९घाँस० को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ।

ओलाङचुगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । चौँरी याक पालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छ । त्यस क्षेत्रमा कसैले पनि चनर गर्न पाउँदैन । संरक्षण गरेपछि हुर्किएका घाँसलाई सो दिन सबै परिवार मिलेर घाँस काट्ने गर्दछन् । पशुपालक सबै परिवार जुटेर घाँस सङ्कलन गर्ने ९काट्ने० गरिएको र घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन् । राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने पर्ने स्थानीय बताउँछन् ।

हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरी पालन हो । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् । हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए ।

उनका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङ्चुङगोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताए ।
स्थानीयले सामूहिकरुपमा घाँस सङ्कलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपुफुटी शेर्पाले बताए । विगतदेखि नै ओलाङ्चुङगोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको उनले बताए ।

कुनै वर्ष हिमपातको मौसम लम्विने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङ्चुङगोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताए । मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङ्चुङगोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्दछन् । घाँस ९खुराक० नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा रु डेढ लाखसम्म घाटा हुने स्थानीय बताउँछन् ।

साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्‍याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ । हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सात वटा जति याक र चौँरीको गोठ रहेका छन् । उक्त गोठमा करिब साढे चार सय याकको संख्या रहेको स्थानीयले बताएका छन् ।

मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताए । उनका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजंगा गाउँपालिकाको याम्फुदी क्षेत्रका समुदाय याक पालनमै आत्मनिर्भर हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका