Mon Nov 28 2022
मुख्य खबर

हातको इसारामा ट्राफिक व्यवस्थापन

मेनुका लम्साल- दैनिक हजारौको संख्यामा सवारी साधन गुड्ने काठमाडौ उपत्यकामा ट्राफिक लाइट नहुँदा सवारी साधन व्यवस्थापनमा समस्या हुने गरेको छ । काठमाडौ उपत्यकाका अधिकांस ठाउँमा लाइट नै छैनन भने भएकाले पनि काम नगर्दा ट्रापिकको हातको इसारामा सवारी साधन संचालन हुँदै आएको छ ।

संघीय राजधानी काठमाडौमा साना ठूला गरि ११ लाख सवारी साधन रहेको अनुमान छ । तर यति धेरै सवारी साधनहरु रहेको तथा दैनिक हजारौ सवारी साधन गुड्ने सडकमा प्रर्याप्त ट्राफिक लाइटनै छैनन ।

कतिपय स्थानमा ट्राफिक लाइट भएको भएपनि ति लाइटले राम्ररी काम गर्दैनन । जसका कारण उपत्यकाको सवारी व्यवस्थापन ट्राफिकको हातको इसारामा चल्ने गरेको छ । जसले जनशक्ति धेरै चाहिने समस्या एकातिर छ भने, अर्कोतर्फ ट्राफिकको हातको इसारा नवुझ्दा समय समयमा थप समस्या हुने गरेको छ । त्यसो त सवारी साधन संचालनमा मात्र होइन पैदल यात्रुहरुलाई समेत वाटो काट्ने लाइट नभएकै कारण समस्या हुने गरेको छ ।

शहर व्यवस्थित हुन ट्राफिक व्यवस्थापन पनि उतकृष्ट हुनुपर्छ । तर सडक नियमको पालना त परको कुरा ट्राफिक व्यवस्थापन समेत लाइट नुहँदा इसाराको भरमा गर्नु लज्जाको विषय भएको सर्वसाधारणको प्रतिक्रिया छ । तर ट्राफिक लाइटको व्यवस्थापन गरिरहेको सडक विभाग अन्तरगतको सडक सुरक्षा तथा ट्राफिक महाशाखाले भने उपत्यकाका विभिन्न १४ चोकमा विग्रिएका लाइटको मर्मत गरिरहेको जनाएको छ ।

५ वटा चोकमा मर्मत कार्य सकिएको जनाएको छ । ट्राफिक व्यवस्थापनका लागि लाइटको मर्मत कार्य छिट्टै सकिने महाशाकाको भनाइ छ ।

देशको प्रमुख शहर तथा संघीय राजधानी रहेको शहरकै ट्राफिक व्यवस्थापन हातको इसारामा चलिरहेको छ भने अन्य शहरको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।

चुनावका समयमा शहरलाई स्मार्ट सिटी बनाउने नेताहरुले बताउने गरेको भएपनि सडकको अवस्थासंगै अन्य व्यवस्थापन त परको कुरा विग्रिएका ट्राफिक लाइट सम्म वर्षौसम्म मर्मत हुन सकेका छैनन । सडक सुरक्षाका लागि समेत विग्रिएका लाइट समयमै मर्मत गर्नेतर्फ सम्वन्धित निकाएको ध्यान जान आवस्यक छ ।