Wed Dec 7 2022
मुख्य खबर

एकीकृत समाजवादी एमसीसी टेबल गर्न यसरी भयो तयार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्ने र नगर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर, यसका लागि एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सारेको छ ।

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन भएको अवस्थामा एमसीसी टेबल गर्न बाधक नबन्ने तर संशोधन नगरी अहिलेकै अवस्थामा पारित गर्न नसकिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगनाथ खतिवडाले दलहरूबीच सहमति कायम भएर संसद्मा जारी अवरोध हटेको अवस्थामा एमसीसी टेबल गर्न पार्टी बाधक नबन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘एमसीसीका कतिपय बुँदामा हाम्रो पार्टीको असहमति छ, संशोधन नगरी यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिँदैन । एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।’

एकीकृत समाजवादी यो निर्णयले माओवादी केन्द्र थप नैतिक संकटमा परेको छ । माओवादी केन्द्रका नेता देव गुरुङले संसद् अवरुद्ध रहेको अवस्थामा राष्ट्रिय महत्वको विषयसँग जोडिएको सम्झौता जबरजस्ती रूपमा टेबल गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सदन अवरुद्ध छ, सदन सञ्चालन गराएर मात्र टेबल गर्न सकिन्छ, राष्ट्रसँग जोडिएको मुद्दामा दलहरूबीच साझा धारणा बन्न आवश्यक छ ।’

यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।