Wed Aug 17 2022
मुख्य खबर

थप २६२ मा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ । जसमध्ये ११ हजार ७५४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ४९० जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये १३६ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा चार जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ भने ९ लाख ५१ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना संक्रमित थपिएका छन् ।

यसैबीच काठमाडौं उपत्यकामा थप ९३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ८०, ललितपुरका १२ र भक्तपुरका १ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।