Sun Jun 26 2022
मुख्य खबर

मतदान गर्नबाट कोही पनि नछुटून भन्नेमा सचेत छौं : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले कोही पनि मतदाता निर्वाचनमा मतदान गर्न नछुटून भन्नेमा सचेत रहेको बताएका हुन । उनले सबै मतदान स्थलहरु अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको पनि बताएका छन ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा कोही पनि मतदाता मतदान गर्नबाट बञ्चित नहुने दावी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न कोही पनि नछुटुन भन्नेमा आयोग सचेत रहेको बताए ।

उनले सबै मतदान स्थलहरु अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको बताउदै त्यो भए/नभएको परीक्षण गर्न अनुगमन गर्ने व्यवस्था पनि गरिएको बताए । नेपाल अपांग महिला संघका पदाधिकारीहरुसँग आईतबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज हुने व्यवस्था गर्ने र सुत्केरी तथा गर्भवती महिलाहरुका लागि पनि विशेष व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा नेपाल अपांग महिला संघका पदाधिकारीहरुले सबै मतदान केन्द्र अपांगमैंत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरे । आयोगसँग अपांगमैत्री मतदान केन्द्र र उनीहरुको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरिएको संघकी अध्यक्ष टीका दाहालले जानकारी दिइन ।

संघले अपांगता भएका व्यक्तिहरुका लागि सहज हुने खालको निर्वाचनसम्बन्धि सामग्रीहरु बनाउन पनि आयोगको ध्यानाकर्षण गराएको छ ।