Wed Aug 17 2022
देश

एमसीसीको पक्षमा बहुमत जुटाउदै देउवा

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीबारे आन्तरिक छलफल गर्दै छन् ।

प्रधानमन्त्री देउवाले आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडू, संसदीय दलकी सचेतक पुष्पा भुसाल लगायतलाई छलफलका लागि बोलाइएको छ ।

१२ गते बस्ने प्रतिनिधिसभा बैठकअघि एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि देउवा आज आन्तरिक छलफल गर्न लागेको एक नेताले जानकारी दिएका छन्ु् ।

माओवादी र एकीकृत समाजवादी एमसीसी पासका लागि मतदान नगर्ने अवस्थामा प्रमुख प्रतिपक्षी एमालेलाई फकाउने प्रयास पनि देउवाले जारी राख्ने काँग्रेस नेताहरू बताउँछन् ।

सत्ता घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एमसीसीको पक्षमा मतदान गर्ने ठाउँमा उभ्याउने प्रधानमन्त्री देउवाको प्रयास छ ।

आजको छलफलमा एमसीसीको पक्षमा बहुमत जुटाउन गठबन्धनभित्र र बाहिरको गृहकार्यका लागि केही नेताहरूलाई जिम्मेवारी दिने देउवाको तयारी छ ।