Sat Jun 25 2022
मुख्य खबर

सर्लाहीमा स्वास्थ्य संस्थाहरुको अनुगमन, १३ निजी स्वास्थ्य संस्था बन्द गराइए

शंखर पहाडी- सर्लाहीको लालबन्दी नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन सुरु गरेको छ । पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरुको विषयमा नागरिकहरुको गुनासो आउन थालेको र निजी स्वास्थ्य संस्थाहरुबाट गैरकानुनी कृयाकलाप बढ्दै गएको पाइएपछि अनुगमन शुरु गरिएको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकाले निजी स्वास्थ्य संस्थाहरुको अनुगमन शुरु गरेको छ । नगरपालिकामा रहेका नागरिकहरुको स्वास्थ्यमा खेलबाड नहोस् भन्ने उद्देश्यका साथ नगरपालिको स्वास्थ्य शाखाले अनुगमन थालेको हो ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत निजी स्वास्थ्य संस्थाले व्यापारको मात्र उद्देश्य राखेर लापरवाही गरेको भन्दै अनुगमन थालिएको हो । यता, स्वास्थ्य संस्था सञ्चालकहरुले भने स्वास्थ्य संस्था संञ्चालनको क्रममा आफुहरुबाट कुनै पनि किसिमको लापरवाही नहुने दाबी गरेका छन् ।

अनुगमनको क्रममा कानुन बमोजिम आवश्यक जनशक्ति नभएको, प्रक्रिया, कागजात नपु-याई सञ्चालनमा रहेका तथा पोलिक्लिनिकको नाममा अस्पताल, क्लिनिकको नाममा अस्पताल सञ्चालन गरि बेड राखेको, औषधि विक्रि वितरण गर्ने जनशक्ति नराखेको पाइएको थियो । अनुगमन समितिले त्यस्तालाई स्वास्थ्य संस्थाहरुलाई बन्द गराएको छ ।

लालबन्दी नगरपालिका १, २ र ७ मा सञ्चालित १३ वटा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन भएको छ । समितिले १३ वटा निजी स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।