Wed Jun 29 2022
मुख्य खबर

जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारबाही गर्ने अभियान चलाएको छ ।

बुधबार राजधानीमा विभिन्न क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन प्रहरीले स्वीप अपरेशन चलाएको हो ।

पाटन क्षेत्रमा बुधबार ३७ सवारी साधनलाई कारबाही गरिएको छ । साथै, प्रहरीले जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्न सचेतसमेत गराएको छ ।
त्यसैगरी, बुधबार नै बौद्ध एरियामा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ्ग गर्ने जुनसुकै सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन यो अभियान सञ्चालन गरेको बताए ।